Techie IT
सोमबार, वैशाख ८,२०८२

सेयर लगानीकर्ताको हालसम्मकै विशाल विरोध प्रदर्शन


काठमाण्डौ । सेयर लगानीकर्ताहरुले शनिवार दिउँसो विशाल विरोध प्रदर्शन गरेका छन् ।

विगत केही दिनदेखि दैनिकजसो प्रदर्शन गर्दै आएका उनीहरुले विदाको दिनको अवसर पारेर पूँजीबजारको नियामक धितोपत्र बोर्डको कार्यालय रहेको खुमलटार क्षेत्रमा विशाल विरोध प्रदर्शन गरेका हुन् ।

सोही क्षेत्रमा बजार सुधारका विभिन्न १९ बुँदे माग राखेर असार १ गतेदेखि लगानीकर्ता तिलक कोइराला आमरण अनसन बसिरहेका छन् । अनसनमा बसेका उनको स्वास्थ्य अवस्था कमजोर बन्दा समेत माग पूरा गर्ने विषयमा सरकार र सरोकारवाला निकायले ध्यान नदिएपछि आक्रोशित लगानीकर्ताहरुले ऐतिहासिक प्रदर्शन गरेका हुन्।

अनसनमा भेला भएका सयौं लगानीकर्ताहरुले खुमलटारदेखि सातदोबाटो क्षेत्रसम्म विशाल मार्चपास गरेका थिए ।

ब्यानर र प्लेकार्डसहित लगानीकर्ताहरु विरोध प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनमा सहभागी हुनैका लागि काठमाण्डौबाहिरका लगानीकर्ताहरुको समेत सहभागिता उल्लेख्य देखिएको थियो ।

लगानीकर्ताहरुले सेयर धितोकर्जामा राष्ट्रबैंकले लगाएको ४/१२ करोडको क्यापको खारेजी, गभर्नरको राजीनामा, ब्रोकरहरुको सेवा विस्तार तथा बैंकलाई ब्रोकर लाइसेन्स, पूँजीगत लाभकरमा समयसापेक्ष समायोजन, विगतमा भएका सम्झौताको अक्षरंश कार्यान्वयन लगायत बजारसँग सम्बन्धित समस्या समाधानको माग राखेका थिए ।

प्रदर्शनलाई सम्बोधन गर्ने लगानीकर्ताका अगुवाहरुले पनि माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका थिए । अनसनस्थलमा तिलक कोइरालाको स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि सरकारले माग सम्बोधनमा चासो नदिएपछि लगानीकर्ताहरु आक्रोशित देखिन्थे ।


क्याटेगोरी : अर्थ
ट्याग : #सेयर लगानीकर्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545