Techie IT
शनिबार, वैशाख ६,२०८२

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) विधेयक सर्वसम्मतिले स्वीकृत


काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, र सामाजिक सुरक्षा विधेयक, पेश भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ पेश गर्नुभयो ।

यसैगरी, प्रतिनिधिसभाको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेश गर्नुभयो ।

बैठकमा सुरुवातमा सांसद योगेशकुमार भट्टराईले बाढी पहिरोबाट प्रभावितको उद्धार, राहत तथा घाइतेहरूको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यस वर्षको मनसुन सुरु भइसकेको हुनाले विपत् व्यवस्थापनको पूर्व तयारीमा लाग्न र आम नागरिकमा मौसम सम्बन्धी पूर्व सूचना पुर्‍याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद एकवाल मियाँले बाराको सिमरामा भएको सामूहिक हत्याको घटनामा सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले भूकम्प पीडितले अझै पनि अनुदानको दोस्रो र तेस्रो किस्ता पाउन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, बैठकको शून्य समयमा बोल्दै सांसदहरू खगराज अधिकारी, अतहर कमाल मुसलमान, अमृता थापा लगायतले अमेरिकाको नेशनस गार्ड स्टेट पाटनरसीप प्रोग्राम एसपिपि नेपालको हितमा नभएकोले त्यसलाई अगाडि नबढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमनलाल मोदी विराटनगर विमानस्थल निर्माणमा भइरहेको ढिलाइ प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमाशङ्कर अरगरियाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठ काठमाडौँ नागढुंगा सडक खण्डमा देखिएको जग्गा अधिगृहण सम्बन्धी विवाद समाधान गर्न माग गर्नुभयो ।

सांसद जिपछिरिङ् लामाले नागरिकता विधेयक संशोधन गरी सबै नेपाली नागरिकले नागरिकता पाउने सुनिश्चित गर्न माग गर्नुभयो ।

१५ मिनेटका लागि स्थगित भई पुनः बसेको प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक असार ६ गते सोमबार दिउँसो १ः०० बजे पुनः बस्ने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545