Techie IT
बुधबार, वैशाख १०,२०८२

बागमती प्रदेशसभाको बैठक पुनः सुरु


मकवानपुर । बागमती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ । नेकपा (एमाले)को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो ।

एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुचारु भएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भए लगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गर्नुभएको थियो ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।

निरौलाले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफु अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभएको थियो ।

उहाँले त्यसको सत्य तथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताउनुभएपछि बैठक १० मिनेटको लागि स्थगन गरिएको थियो ।

तर, करिब साढे २ घण्टापछि मात्रै बैठक सुरु भएको छ । बैठकमा सांसदहरुले आगामी आवको लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राखिरहनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेशसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:29 am6:34 pm +0545