Techie IT
मंगलबार, वैशाख ९,२०८२

पार्टीको अनुहार जनप्रतिनिधिमा देखिनुपर्छ: वर्षमान पुन


 

बनेपा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताउनुभएको छ ।विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि नखोजेको र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको जनाउँदै अब त्यसो नहुने उहाँले बताउनुभयो ।

नेता पुनले सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यस पटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलान्चोकका इन्चार्ज सूर्यमान दोङले अहिले भएको विजय भन्दा गुणात्मक ढङ्गले अर्को निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

माओवादी केन्द्र काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमध्ये गाउँपालिका अध्यक्षमा विजयी खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, चौरी देउरालीका अध्यक्ष रेणुका चौलागाईँ, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नमोबुद्ध नगरपालिका उपप्रमुख रत्नबहादुर लामा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना लगायत विजयी वडाध्यक्ष र सदस्यलाई सम्मान पत्र प्रदान गरिएको छ ।
रासस


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #वर्षमान पुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545