Techie IT
सोमबार, वैशाख ८,२०८२

अपहरणमा परेकी नाबालिकाको सकुशल उद्धार, पाँच जना पक्राउ


जनकपुर । अपहरणमा परेको २४ घण्टाभित्र धनुषा प्रहरीले शुक्रबार साँझ एक नाबालिकालाई अपहरण सकुशल उद्धार गर्न सफल भएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुल्चौकस्थित आफ्नै घरबाट अपहरणमा परेकी ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टिलाई आज साँझ ६ बजेतिर धनुषाको बिदेह नगरपालिका–८ बफैयबाट प्रहरीले उद्धार गरेको हो ।

बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

बिहीबार साँझ आफ्नै घर आँगनबाट अचानक नाबालिका बेपत्ता भएको भन्दै परिवारजले प्रहरीमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले नाबालिकाको खोजी सुरु गरेको थियो ।

त्यही क्रममा नाबालिकाका बुबाको मोबाइलमा अपहरणकारीहरूले रु १५ लाख फिरौती माग गर्दै गरेको फोनका आधारमा मोबाइल नेटवर्किङ पत्ता लगाउँदै अपहरणकारीसम्म पुग्न सफल भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । अपहरण मुक्त गराउन सफल भएकी नाबालिकाको स्वास्थ्य परीक्षणपश्चात् शुक्रबार साँझ परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545