Techie IT
सोमबार, वैशाख ८,२०८२

अपहरणमा परेको नाटक गर्ने युवक पक्राउ


दाङ । अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तु राखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ९ का २४ वर्षीय जनक देवकोटा रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । देवकोटाले योजनाबद्ध तरिकाले शंकास्पद बस्तु राखेर आफू अपहरणमा परेको झुट्टो अफवाह फैलाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले बताए ।

तुलसीपुर उपमहानगरपालिका– ४ नयाँ बस्तीस्थित हरिप्रसाद रिजालले सञ्चालन गरेको ड्रागन कृषि फर्ममा काम गर्दै आएका देवकोटाले कृषि फर्म सञ्चालकसँग रकम असुल्ने योजनाका साथ आफू अपहरणमा परेको नाटक गरेको रहस्य खुलेको प्रमुख काफ्लले बताए ।

गत आइतबार अपहरणमा परेको सूचना प्रहरी कार्यालयमा पुगेपछि खोजी कार्य गर्ने क्रममा देवकोटालाई मंगलबार लमही नगरपालिका– ९ अमिलिया नजिकैको जंगलमा फेला पारिएको प्रहरीले बताएको छ । गत फागुन २७ गते साँझ कृषि फर्म नजिकै शंकास्पदबस्तु राख्ने व्यक्ति पनि उनै देवकोटा रहेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका देवकोटाले रकम असुल्नका लागि योजनाका साथ गत आइतबार तुलसीपुर बजार जान्छु भनी घरबाट निस्किएको र बेलुका पख श्रीमतीलाई मोबाइल म्यासेजबाट अपहरणमा परेको कुरा पठाएका थिए । पक्राउ परेका देवकोटाविरुद्ध विस्फोटक पदार्थ सम्बन्धी कसुर र झुट्टा अफवाह फैलाउन नहुने कसुरमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रमुख काफ्लले जानकारी दिए ।


क्याटेगोरी : अपराध/सुरक्षा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545