Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभाको मादीमा हत्याको घटना अपडेट : बल्ल पुग्यो धरानको टोली, चिकित्सक, डग र प्रहरी घटनास्थलमा

झापामा किनेको ८० लाखको जग्गा पास गर्ने तयारीमा थिए ती परिवार !


संखुवासभाको मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको बीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट हिँडेको तालिमप्राप्त कुकुर, चिकित्सक र प्रहरीको टोली सोमबार साढे ८ बजे घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले टोली घटनास्थल आइपुगेको जानकारी दिए । ‘ढिलै गरी भएपनि उहाँहरुको टोली आइपुग्नुभएको छ’, उनले फोन सम्पर्कमा भने, ‘अनुसन्धानपछि मङ्गलबार बिहानमात्रै शव उठाउँछौं ।’
सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको हो । दाहाल अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो । अनुसन्धानको लागि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट तालिमप्राप्त ‘डग’ को मद्दत लिइएको छ । घटनाको ‘क्लु’ पत्ता लगाउन कुकुरले सहायता गर्ने प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेशमा कर्तव्य ज्यान जस्ता संवेदनशील घटनाहरूमा अपराधी पहिचान गर्न सो ‘डग’ प्रयोग गरिन्छ । घटनास्थलमा अपराधीले छाडेको सुराक सुँघेर पत्ता लगाउन सक्ने क्षमताको ‘डग’ ले यसअघि प्रदेश १ का विभिन्न जिल्लामा घटेका हत्यालगायतका घटनामा प्रहरीलाई अपराधीसम्म पुरयाउन ठूलो मद्दत गर्ने गरेको छ ।

जिल्लाको मादी नगरपालिका १ स्थित उम्रिङ भन्ने स्थानका ६ जना मृत फेला परेका थिए । अज्ञात समूहबाट शेरबहादुर कार्कीसहित उनकी आमा, श्रीमती, बुहारी र बच्चा दुई जना गरी ६ जनाको हत्या भएको छ । घरेलु हतियार प्रहार गरेर सबैको हत्या भएको शवको प्रकृति हेर्दा पाइएको डीएसपी सुवेदीले बताए । घटना गएराति नै भएको आशंका गरिएको छ भने स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेको मादी नगरपालिकाका मेयर भीम लिंथेपले जानकारी दिए ।

मृत अवस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वबर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेकी छन् । परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ । तेजबहादुरका दुवैछोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा पुगेको प्रहरीले जनाएको छ । यस्तै, दुवै छोरीको विवाह भइसकेको छ ।

उनका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुँडीमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् । उनीहरूको हत्या कसले र किन गरयो भन्ने अझै खुलेको छैन ।

श्रीमती छेवैमा मारिँदा जसले थाहै पाएनन्
छिमेकी भवदीप कार्कीका अनुसार उनी त्यहाँ पुग्दा तेजबहादुरका ९३ वर्षीय बुबा बौद्धमान निदाइरहेका थिए । उनकी श्रीमती नजिकै लडिरहेकी थिइन्, उनको मृत्यु भइसकेको थियो । बौद्धमानलाई शव उठाएर घरका अन्य सदस्यबारे सोधीखाजी गरेको तर कोही नभेटिएको उनले जानकारी दिए । त्यसपछि हल्लाखल्ला भएपछि गाउँले जम्मा भएका थिए ।

अहिले बौद्धमान कार्की सकुशल रहेका छन् । उनले आफूले घटनाबारे केही अत्तोपत्तो नै नपाएको जानकारी दिए । उनी कान र आँखा देख्न नसक्ने अवस्थामा रहेका छन् । घटनाको प्रकृति हेर्दा लखेटी लखेटी मारेको जस्तो देखिएको छिमेकी कार्कीले जानकारी दिए । ‘खासमा जुत्ता–चप्पल बाटोमा भेटिनु आदि कारणले पनि लखेटिएको हुनसक्छ’, उनी भन्छन् ।

प्रहरी स्रोतका अनुसार ८० लाख मूल्य पर्ने जग्गा झापामा किनेको र सो जग्गा पास गर्ने सुरसारमा ती परिवार रहेको थियो । उनीहरुले केही रकम बैना समेत गरेको छिमेकीले जानकारी दिएका छन् । आर्थिक कारणले नै हत्या हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले स्रोतले जनाएको छ । उनीहरुले झापामा जग्गा किन्ने भनेपछि विदेशमा रहेकाहरुले केही रकमसमेत पठाएको छिमेकी बताउँछन् ।
‘रकम निकालेर घरमा ल्याएर राखेको भन्नेसम्म बुझ्न आएकाले हत्याको कारण आर्थिक पाटो हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धान छ’ प्रहरी स्रोत भन्छ । उनीहरुको कसैसँग दुश्मनी नरहेको समेत छिमेकीहरुले बताएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #मादी हत्या प्रकरण, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545