Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेभित्र सहमति भइसक्यो : भीम रावल


काठमाडौँ, १० साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेभित्र अब कुनै विवाद नरहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा एमालेको पूर्व कार्यदलका सदस्य र एमालेका सांसदहरुको बैठकमा नेता रावलले पार्टीमा वैचारिक, सैद्धान्तिक कुनै विवाद नरहेको उल्लेख बताएका हुन् ।

रावलले सम्बोधनको क्रममा पार्टीका दुई पक्षबीच विवाद मिलाउन निकै समय मेहनत गरेर १० बुँदे सहमति गरिएको बताए ।

सहमति त्यति सजिलै नभएको उनको भनाइ छ ।

उनले कति चित्त नबुझे पनि कोही दुई पाइला, कोही तीन पाइला हटेर सहमति गरिएको बताए ।

उनले भने–‘अघि सुवास कमरेड (सुवास नेम्वाङ) ले भनेजस्तै हामीले पार्टी अध्यक्ष र वरिष्ठ नेता दुवैजनालाई यो सहमति गर्ने आरम्भ चरणदेखि अन्तिम बिन्दुसम्म सम्पूर्ण कुराको जानकारी गराएका छौँ । उहाँहरूलाई सो कुराको जानकारी गराउनुको साथ साथै सहमति गर्नु पूर्व अन्तिम बिन्दुमा जानकारी गराएका छौँ । केही बुँदाहरूमा यहाँ यस्तो भए हुन्थ्यो भन्ने भनाई अवश्य रहेका हुन् । मेरा पनि केही अडान छन्, सुवास कमरेडका पनि छन्, अरू कमरेडका पनि छन् । सबैको अडान कायम राखेको भए आज यसरी सहमति हुने थिएन ।’

नेता रावलले भने, ‘हामी सबैलाई थाहा छ २०७५ जेठ २ गते पूर्वको अवस्थामा जाने यो सम्झौतामा स्पष्ट रूपमा लेखिएको छ । साथसाथै फागुन २३ पछि कुनै पनि तर्फ भन्ने शब्द प्रयोग गरिएको छ, हामी सबैजना कानुनका ज्ञाता नै छौँ, कुनै पनि तर्फ भन्दा के अर्थ लाग्छ ? त्यहाँ हामीले बहस पनि गरेका थियौँ, दुई ठुला पार्टी एकता हुन लागेको अर्थ पनि आउने भयो नि कमरेड भन्ने कुरा पनि आयो । किन त्यस्तो शब्द प्रयोग गर्ने ? त्यसकारण हामीले धेरै बिचार गरेर दुईतर्फ भन्ने शब्द त्यहाँ प्रयोग गरेका छौँ । तितो नलागोस्, पार्टी अध्यक्षले नेतृत्व गरेको ठाउँबाट होस वा वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको ठाउँबाट होस्, हाम्रो विधानसँग नमिल्ने, हाम्रो एकतासँग नमिल्ने ती सबै कुराहरू बदर हुनेछन् भनेर त हामीले घोषणा गरिसकेका छौँ । यो भन्दा ठूलो एकताका लागि घोषणा अरू के हुन सक्दछ ? यो भन्दा फराकिलो कुरा अरू के हुन सक्दछ ?’

उनले पार्टी २०७५ जेठ २ गते जाने भइसकेपछि अब विवाद किन गर्ने भनी प्रश्न समेत गरेका छन् ।

रावलले भने, ‘यति धेरै सहमति भइसकेपछि अब हामीले के का लागि विवाद गर्ने ? के का लागि मतभेद गर्ने ? सिद्धान्तका लागि मतभेद गर्ने हो भने जनताको बहुदलीय जनवादका बारेमा कसैले प्रश्न उठाएको देखिँदैन । कार्यक्रममा विवाद छ भने समाजवाद प्राप्तिका लागि दलाल पुँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्दै जाने भन्ने अठोटमा कसैले बहस गरेको देखिँदैन । नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, सामाजिक नीतिको बारेमा कुनै विवाद गरेको पाइँदैन । समावेशी लोकतन्त्र, समानता, न्यायका लागि लड्ने हाम्रो पार्टीको प्रश्न हो त्यसमा पनि प्रश्न छैन । केहीमा पनि प्रश्न छैन भने के भनेर लड्ने ?’

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भीम रावल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545