कञ्चनपुरमा भूमि आयोगको कार्यमा तीव्रता

कञ्चनपुर, १२ असार(रासस) : भूमिसम्बन्धी समस्या समाधान आयोगले यहाँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको कार्य अगाडि बढाउने तयारी गरेको छ ।
आयोगको जिल्लास्थित कार्यालयले जग्गा नाप जाँचका लागि कार्य अगाडि बढाउन लागेको हो । यही असार १४ गतेदेखि बेलडाँडी गाउँपालिका–३ बाट जिपिएस प्वाइन्ट राख्ने कार्यसँगै जग्गाको नाप जाँचको कार्य हुन लागेको भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष कमला बोहराले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला आयोग गठन भएपश्चात् स्थानीय तहसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत लिने कार्य पूरा भएको छ ।
त्यसका लागि अधुरा कामको अनुसूची २ आयोगको जिल्लास्थित कार्यालयबाट, भूमिहीन दलित भूमिहीन सुकुम्बासीका लागि अनुसूची ३ र अव्यवस्थित बसोबासीका लागि अनुसूची ४ फाराम स्थानीय तहबाट भर्ने कार्य गरिएको छ ।
स्थानीय तहले लगत लिएका फारामलाई कम्प्युटरमा प्रबिष्ट गर्ने कार्यलाई दु्रत गतिमा अगाडि बढाएका छन् । लगत सङ्कलनको रेकर्ड स्थानीय तहले जिल्ला आयोगको कार्यालयलाई पठाउने तयारी गरेका छन् । हालसम्म आयोगले जग्गासम्बन्धीको ४० प्रतिशत कार्य पूरा गरेको छ ।
जग्गा नापजाँचको कार्यलाई अगाडि बढाउनका लागि आयोगको केन्द्रीय कार्यालयले नौवटै स्थानीय तहमा दुई सर्भेक्षक र दुई अमिनलाई खटाएको छ ।
“तीन महिनाअघि नै लगत लिने कार्य पूरा भएको भए पनि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण दुई महिना कार्य अगाडि बढ्न नसक्दा विलम्ब भयो”, आयोगका जिल्ला अध्यक्ष बोहराले भन्नुभयो, “जिपिएस प्वाइन्ट राख्ने कार्यसँगै जग्गा नापजाँच गर्ने कार्यलाई अगाडि बढाउँदैछौँ, कार्यलाई छिटोछरितो रुपमा अगाडि बढाउनका लागि कार्य भइरहेको छ ।”
अन्य जिल्लाको तुलनामा कार्य छिटो अगाडि बढिरहेको उहाँको भनाइ छ । साउनभित्रै अधुरा कामको अनुसूची २ फाराम आयोगको जिल्ला कार्यालयमार्फत भरेका व्यक्तिमध्ये एक हजार जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराउने योजना रहेको उहाँले बताउनुभयो ।
श्रेस्ता कायम भएका, फिल्डबुक कायम भएका, जग्गाबापतको रकम बुझाएकालगायतका व्यक्तिलाई जग्गा धनीपुर्जा दिइने उहाँले बताउनुभयो । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई एकपटकका लागि आवास प्रयोजनका लागि बढीमा ३४० वर्गमिटर (१ कट्ठा वा १०.६५ आना) जमीन उपलब्ध गराइने छ ।
“कृषि प्रयोजनका लागि भने तराई र भित्री मधेशमा बढीमा दुई हजार वर्गमिटर (करीब छ कट्ठा) जमीन उपलब्ध गराउने व्यवस्था रहेको छ”, अध्यक्ष बोहराले भन्नुभयो, “भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गाबाफत कुनै दस्तुर भने लाग्दैन ।”
अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा आर्थिक अवस्था, बसोबासको स्थिति, जग्गाको प्रकृति, क्षेत्रफल, मूल्याङ्कन, आवाद कमोतको अवधि र अन्य जमीन भए÷नभएका आधारमा तोकिएबमोजिम वर्गीकरणका आधारमा रकम तिर्नुपर्नेछ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सम्भव भएसम्म बसोबास गरेकै ठाउँमा जमीन उपलब्ध गराउने अयोगको योजना छ ।
कानूनले दिन नमिल्ने भनी उल्लेख गरेका केही ठाउँमा बसोबास गरेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई अन्यत्र स्थानान्तरण गरिनेछ । कानूनअनुसार दिन मिल्ने जग्गामा बसोबास गरेका अव्यवस्थित बसोबासीको हकमा सोही स्थानमा दिइनेछ ।
आयोगबाट उपलब्ध गराइएको जमीन अंशबन्डा र अपुतालीको अवस्थामा बाहेक अन्य कुनै प्रक्रियाबाट १० वर्षसम्म हक हस्तान्तरण गर्न पाइने छैन ।
जग्गा पाउनका लागि गलत विवरण पेश गर्नेलाई भने आयोगले रु एक लाख वा एक वर्ष कैद वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्थासमेत गरेको छ ।
यहाँ हालसम्म तीन हजार १५१ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले बसोबासका लागि फाराम भरेका छन् । यसैगरी ४९ हजार २४ अव्यवस्थित बसोबासी र आयोगको जिल्लास्थित कार्यालयबाट छ हजार ४१७ जनाले जग्गाको अधुरो कार्यका लागि फारम भरेका छन् ।
क्याटेगोरी : विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्