Techie IT
आईतबार, वैशाख ७,२०८२

महामारीमा भ्रम छर्दै भरतपुर महानगर, गर्दै नगरेको कामको प्रचार


भरतपुर । कोरोना संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पुर्‍याउने अभियान थालेको भन्दै भरतपुर महानगरपालिकाको इमेलबाट बुधबार विभिन्न सञ्चारमाध्यमलाई जानकारी गरायो । संक्रमितलाई बोक्न दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समाचारमा दाबी गरिएको थियो ।

संक्रमितलाई ‘घरबाटै अस्पतालसम्म लैजाने व्यवस्था’ भन्ने समाचार केही मिडियामा आएपछि महानगर प्रमुख रेनु दाहाललाई धेरैले धन्यवाद दिए । तर, बिहिबार दिउँसो सम्म कोरोना संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पुर्‍याउने निर्णय नै नभएको र एम्बुलेन्स नै तयार नरहेको पाइएको छ ।

संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पुर्‍याउने विषयमा कुनै निर्णय नै नभएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले बताए । ‘अस्पताल लैजाने व्यवस्था भएको छैन अहिले । आज बल्ल बैठक बस्दै छ’, उनले भने, ‘एम्बुलेन्स राख्ने भन्ने कुरा त भएको हो तर कहाँ–कहाँ राख्ने निर्णय भएको छैन ।’

यस विषयमा थप बुझ्न खोज्दा महानगर प्रमुख रेनु दाहालसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महानगरको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी र उप–प्रमुख सूर्य तिवारीले पनि यस विषयमा कुनै निर्णय नभएको बताए । सुवेदी बिरामी भएर दुई दिनदेखि घरमै आराम गरिरहेका छन् ।

स्वास्थ्य शाखा उप–प्रमुख सूर्य तिवारीले पनि संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था भनेर आएको समाचार हल्लामात्रै भएको बताए । ‘त्यो केही पनि होइन, हल्लामात्रै हो’, उनले भने, ‘त्यो बारेमा तयारी बैठक भएको छ । तयारी गर्दै छौँ ।’ एम्बुलेन्स चालकको खान बस्नको सुविधालगायतका विषयमा निर्णय नै भइनसकेको उनले बताए ।‘जसले पैसा तिर्न सक्दैन र समस्या परेको छ । त्यस्तो बिरामीको लागि महानगरले एक/दुई वटा एम्बुलेन्स राखेर अलिकति सहजीकरण गरिदिने कि भन्ने कुराचाहिँ भएको छ । टुंगिसकेको छैन’, उनले भने ।

महानगरको कोभिड फोकल पर्सन केशव भट्टले भरतपुर–२३ स्थित स्वास्थ्यचौकी जगतपुरको एउटा एम्बुलेन्सले संक्रमित बोक्ने भनेर निर्णय भइसकेको दाबी गरे । ‘पोहोर पनि त्यही प्रयोग गरेको हो । अहिले पनि प्रयोग गर्ने निर्णय भएको छ’, उनले भने, ‘गीतानगर र गौरीगञ्जमध्ये कुनै एउटाको एम्बुलेन्स प्रयोग गर्ने भन्नेमा सल्लाह हुँदै छ । रेडक्रससँग पनि माग्ने कि भनेर छलफल हुँदैछ ।’

भरतपुर महानगरपालिका–२३ का वडाअध्यक्ष नरिनारायण पौडेलले भने संक्रमितलाई अस्पतालसम्म लैजान एम्बुलेन्स तयार राखेको कुराबारे आफूलाई केही जानकारी नभएको बताए । ‘मलाई केही जानकारी आएको छैन, कसैले सम्पर्क पनि गरेका छैनन्’, उनले भने, ‘मेरो वडाभित्रका नागरिकको स्वाब संकलन गर्न नेपाल रेडक्रस उपशाखा जगतपुरको एउटा एम्बुलेन्स तयार राख्ने भनेको हो । स्वास्थ्य चौकीको अर्को एम्बुलेन्सचाहिँ सुत्केरी लगायत अरु बिरामीको लागि भनेर राखेको हो ।’

वडामा स्वास्थ्यचौकी जगतपुर र नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरको गरी दुई वटा एम्बुलेन्स रहेको उनले बताए । महानगर र वडा कार्यालयको केही बजेट र स्थानीयहरुले भैलो खेलेर जम्मा गरेको पैसाले गत वर्षमात्रै स्वास्थ्यचौकीको लागि एउटा एम्बुलेन्स खरिद गरिएको थियो । वडाध्यक्ष पौडेल स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।पहिलो लहरको कोरोना महामारीका बेला वडाको एउटा एम्बुलेन्स महानगरले ६ महिनापछि मात्रै फिर्ता गरेको भन्दै उनले दोस्रो लहरको महामारी सुरु भएपछि आफुसँगै कुनै सम्पर्क नै नभएको बताए । यो खबर आजको चितवन पोस्टमा कुलप्रसाद काफ्ले ले लेख्नुभएको छ ।


क्याटेगोरी : राजनीति, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545