Techie IT
आईतबार, वैशाख ७,२०८२

यस्तो छ एमाले जोगाउने प्रदीप नेपालको सूत्र


काठमाडौं, बैशाख १० । एमाले नेता प्रदीप नेपालले आफ्नो पदीय आकांक्षा त्याग्न बरिष्ठ नेता माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । आफ्नो नियमित स्तम्भमार्फत नेता प्रदीप नेपालले नेकपा एमाले र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि पदीय मोह त्याग्न माधव नेपाल र सवैलाइ मिलाएर अघि बढन अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको हो ।

‘ एक भयौँ हामी आफ्नो सबै फिर्ता पाउँछौँ, होइन कुनै दूतावासले जित्ने मौका पायो भने हामी भएको पनि गुमाउँछौँ । एकपल्ट सोच्नुस केपी ओलीले, एकपल्ट सोच्नुस माधव नेपालले पनि । यो विभाजनबाट सबैभन्दा बढी घाटा तपाईंहरूले नै पाउनु हुन्छ । साराले तपाईं दुईलाई नै सराप्नेछन । अहिले तपाईंहरूका गोठालाले पनि तपाईंहरूलाई त्यसरी नै छाड्ने छन्, जसरी मानिस मरेपछि जुम्राले पनि छोड्छ । जो जित्नु हुन्छ उहाँले पनि पछिल्ला दिनमा आफूलाई सराप्नु नै हुनेछ । जो हार्नु हुन्छ, उहाँको सर्वस्व नै स्वाहा हुन्छ । पदको लडाइँ होइन यो चाहिँ नभन्नु होला । हामीले भन्दा हाम्रा बैरीले धेरै थाहा पाइसकेका छन् । सिद्धान्त नभएपछि झगडा त पद र प्रतिष्ठाको मात्र हुन्छ,’ अध्यक्ष ओली र नेता नेपाललाई सुझाव दिँदै प्रदीपले भन्नुभएको छ ।

यस्तो छ नेपालको सुझाव

अदालतले छोडपत्रको निवेदनमाथि स्वीकृतिको ठप्पा लगाइदियो । अरूलाई कस्तो लाग्यो कुन्नि, मलाई चाहिँ मज्जा लाग्यो । सिद्धान्तहीन मिलनको छोडपत्र हुनु नै पथ्र्यो । दुई वर्ष हामीले यही सिद्धान्तहीनताको जीवन बितायौँ । अहिले त्यो सिद्धान्तहीनताबाट हामी मुक्त भएका छौँ र जनताको बहुदलीय जनवाद नै हाम्रो पार्टीको सिद्धान्त हो भन्ने अवसर पाएका छौँ । यो अदालतले कम्युनिस्ट आन्दोलनप्रति देखाएको सदासयता हो । पहिलेको एकताबद्ध नेकपा बेमेलको चिनारी थियो । त्यसैले यो छुट्याइ प्राकृतिक भइदिएको छ । भेडाभेडासँग, बाख्राबाख्रासँग । माओवादी केन्द्रले के भन्छ को नि ! अथवा के गर्छ त्यो उनीहरूको आफ्नो काम हो । तर हामी चाहिँ मिलौँ ।

‘इगो’ त जोसँग पनि हुन्छ । त्यो मसँग पनि छ । तर देश, मेरो इगोभन्दा धेरै माथि छ, धेरै महान् छ । म एउटा हुँ, देश सबैको हो । म अहिले किन पनि यसो भनिरहेको छु भने, देशले हामीमाथि सबैभन्दा बढी विश्वास गरेको छ । अरू केही गर्न नसके पनि हाम्रो राष्ट्रियताले हामीलाई अरूभन्दा पृथक बनाएको छ । हामीप्रति विश्वास बढाएको छ । यतिबेलै हामीले चुच्चे नक्सा निकालेका छौँ । त्यो नक्सा निकालियो तर हराइयो पनि । तर सत्य के हो नक्सा पाँच दिनकै लागि भए पनि निस्किएकै हो । अहिले लिम्पियाधुराको बारेमा पाएको सफलताले नेपालीहरूलाई, ‘पूर्वमा टिस्टा पुगेथ्यौ, पश्चिम किल्ला काँगडा’ भन्ने गीत गाउने मौका दिएको छ ।

एक भयौँ हामी आफ्नो सबै फिर्ता पाउँछौँ, होइन कुनै दूतावासले जित्ने मौका पायो भने हामी भएको पनि गुमाउँछौँ । एकपल्ट सोच्नुस केपी ओलीले, एकपल्ट सोच्नुस माधव नेपालले पनि । यो विभाजनबाट सबैभन्दा बढी घाटा तपाईंहरूले नै पाउनु हुन्छ । साराले तपाईं दुईलाई नै सराप्नेछन । अहिले तपाईंहरूका गोठालाले पनि तपाईंहरूलाई त्यसरी नै छाड्ने छन्, जसरी मानिस मरेपछि जुम्राले पनि छोड्छ । जो जित्नु हुन्छ उहाँले पनि पछिल्ला दिनमा आफूलाई सराप्नु नै हुनेछ । जो हार्नु हुन्छ, उहाँको सर्वस्व नै स्वाहा हुन्छ । पदको लडाइँ होइन यो चाहिँ नभन्नु होला । हामीले भन्दा हाम्रा बैरीले धेरै थाहा पाइसकेका छन् । सिद्धान्त नभएपछि झगडा त पद र प्रतिष्ठाको मात्र हुन्छ । मेरो यो रोदन लाखौँ जनताको रोदन हो । सक्नुहुन्छ मिल्नुस सक्नु हुन्न आन्दोलन समाप्तीको पगरी गुथेर बस्नुस । मैले यो मेरो अन्तिम सलाम भन्नु नपरोस ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रदीप नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545