प्रधानन्यायाधीशको अनुमोदन गम्भीर मोडमा, शैक्षिक प्रमाणपत्रमा त्रुटि
![](https://www.sajhapana.com/wp-content/uploads/2018/07/paint-192.png)
काठमाडौँ, १४ साउन ।
भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय आज हुने भएको छ ।
संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज दिउसो २ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
यसअघि शुक्रवार र आईतवार बोलाईएका दुबै बैठक स्थगित भएसँगै जोशीको नाम अनुमोदन गर्ने नगर्ने बिषयमा संसदीय सुनुवाइ समितिमा अन्योल थप बढेको छ ।
सुनुवाइ सकिएको पाँच दिन हुँदा समेत नाम अनुमोदन गर्ने नगर्ने बिषयमा समितिले निर्णय लिन नसक्दा राजनीतिक चलखेल सुरु भएको जानकारहरु बताउछन् ।
राजपा नेता लक्ष्मण लाल कर्णका अनुसार जोशीबारे निर्णय लिनु अघि थप छलफल आवश्यक रहेकाले सम्भवत आज निर्णय लिईने छ । जोशीको नाम अनुमोदन गर्ने नगर्ने बिषयमा सत्तारुढ नेकपाले आधिकारिक धारणा तय गरेको छैन ।
प्रस्तावित नाम अस्वीकृत गर्न समितिमा कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ । शैक्षिक प्रमाण पत्र, सर्वोच्च सहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उहाँले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँभिएको छ ।
समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन्, जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् ।
संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपनि, सुरुमा समिति गठनमा भएको ढिलाईं र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो ।
एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
शैक्षिक प्रमाणपत्रमा त्रुटि
सर्वोच्च अदालतबाट १ चैत ०७४ मा प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् । नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा यसअघिका प्रधानन्यायाधीश पराजुली पदबाट हटेका थिए । पराजुलीको जस्तै शैक्षिक प्रमाणपत्रको विवाद कामु प्रधानन्यायाधीश जोशीको पनि भेटिएको छ ।
जोशीको परीक्षाको लब्धांक र चारित्रिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ०२९ सालमा उत्तीर्ण भएको देखिन्छ । नेपाल राष्ट्रिय विद्यापीठको वीरगन्ज बोर्डको नक्सालस्थित नन्दीरात्रि मावि केन्द्रबाट सञ्चालित ०२९ को प्रवेशिका परीक्षामा तेस्रो श्रेणीमा उत्तीर्ण भएका जोशीलाई शिक्षा मन्त्रालयको परीक्षा विभागले ३६६७ सिम्बोल नम्बरको चारित्रिक प्रमाणपत्र उपलब्ध गराएको छ ।
उनले सोही वर्ष काठमाडाैं विजय मेमोरियल स्कुलबाट दिएको परीक्षामा पनि ३६६७ सिम्बोल नम्बर उल्लेख छ । ०३० सालमा नेपाल ल क्याम्पस भर्ना हुँदा विजय मेमोरियल स्कुलबाट एसएलसी पास भएको उल्लेख गरेका छन् ।
जोशी २४ असोज ०११ मा जन्मिएका हुन् । प्रधानन्यायाधीशको उमेर हद ६५ वर्ष रहेको हुँदा जोशी प्रधानन्यायाधीश नियुक्ति भएमा २४ असोज ०७६ सम्म उनको कार्यकाल रहनेछ । ०३६ सालमा कानुन व्यवसायीका रूपमा अभ्यासमा आएका जोशी ११ वर्षभन्दा बढी निरन्तर कानुन व्यवसायमा सामेल थिए ।
शैक्षिक योग्यता : जोशीले राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन् । ९ जोशीलाई वैशाख ०७१ मा न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतबाहेक जोशीले पुनरावेदन अदालत सुर्खेत र दिपायलमा मुख्य न्यायाधीश भएर काम गरेका छन् । उनी १८ कात्तिक ०४८ मा जनकपुर जिल्ला अदालतको न्यायाधीश भएर सेवा प्रवेश गरेका थिए ।
उनले नेपाल ल क्याम्पसमा १२ वर्षसम्म अध्यापन गर्दै क्याम्पस प्रमुखको हैसियतमा समेत काम गरिसकेका छन् । त्यसअघि उनी पृथ्वीनारायण क्याम्पस पोखरामा २ वर्ष कानुनतर्फको प्रशिक्षकसमेत थिए । क्याम्पस प्रमुख हुनुअगाडि हेड लेक्चरर, प्रोग्राम इन्चार्जजस्ता पदमा बसेर उनले काम गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #दीपकराज जोशी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्