Techie IT
आईतबार, वैशाख ७,२०८२

सरकारको औचित्य समाप्त भयो , बिघठन गरेर नयाँ चनाव गरौँ : कांग्रेस नेता भण्डारी


प्युटार, ५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले झण्डै दुईतिहाइको सरकारको औचित्य समाप्त भएको भन्दै बिघठनको प्रस्ताव गरेका छन् ।

उनले कांग्रेस पार्टीलाई सत्ताको ताबेदारी गरेर दुःख दिने काम बन्द गर्न प्रहरी प्रशासनलाई सचेत गराएका छन् । ‘कतिपय ठाउँमा सीडीओहरूको कुरा आयो । सीडीओहरू नेकपाको पोलिटब्युरो सदस्यहरू जस्तो बनेर काम नगरुन्’, उनले भने, ‘प्रशासकले कांग्रेसलाई दुःख दिने व्यवहार गरेको हामीले खेप्दै आएका छौँ । उनीहरूलाई अहिले नेकपालाई भक्ति गरेको भनेर लागिरहेको होला ।’

‘त्यसको रेकर्ड शंकर भण्डारीसँग छ । भोलि हामी आउँदा के होला ? मानौ तपाईहरूले मलाई पत्याएर म गृह मन्त्री भएँ भने के होला ?’, प्रश्न गर्दै उनले भने ।
‘पुलिस प्रशासन, सशस्त्र पुलिस चाहिन्छ, शान्ति सुरक्षा चाहिन्छ भनेर स्व.खुमबहादुर खड्काले स्थापना गरेको हो । खुमबहादुर खड्कासँग सँगै बसेको हुँ । मलाई सबै कुरा थाहा छ । अहिले दुःख दिनेहरूलाई हाम्रो सरकार आयो भने देखाउँछौँ’, उनले भनेका छन् ।

नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार प्युटारमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै तरुण विभागका प्रमुख समेत रहेका भण्डारीले सरकारलाई बिघठन गरेर नयाँ जनादेशका लागि जानुपर्ने बताएका हुन् । उनले कांग्रेसले अबको निर्वाचनमा जनताको मन जितेर ठूलो पार्टी बनेर एकलौटी सरकार बनाउने बताएका छन् ।

‘यो सरकारको औचित्य सक्किएको छ । सरकार आजै बिघठन गरिदिए हुन्छ’, उनले भने, ‘छिटोभन्दा छिटो नयाँ जनादेशका लागि गए हुन्छ ।’

‘कांग्रेसले जनताको घरघर पुगेर जनतालाई कुरा बुझाएर, मन जितेर विगतमा भएका केही कमीकमजोरी छन् भने आत्मसा तगर्दै स्वीकार गरेर सुधारेर निष्पक्षपूर्वक ईमान्दारितापूर्वक जनताको सेवा गरेर गाउँको विकास गर्दै समृद्धि नेपाल, सम्पन्न नेपाल, सुखी नेपाल बनाउने अभियानमा लागौँ’, कांग्रेसका नेता भण्डारीले भनेका छन् ।

हिन्दू धर्म संस्कृति र परम्पराको बचाउ गरेका कांग्रेस नेता भण्डारीले नेपालको पहिचान मेटाउने काम कम्युनिस्टहरूले गरेको बताएका छन् ।

‘श्रीलंका, चीन, वर्मा, म्यानमारलगायतका देशले नेपालमा जन्मिएको बुद्ध धर्मलाई उनीहरू मान्छन् । हामीलाई मतलव छैन’, उनले भने, ‘यो देश सनातन हिन्दू धर्म संस्कृतिको देश हो ।’

‘कम्युनिस्टले जिते । संविधान बनेन । बाहिरको व्यक्ति खिलराज रेग्मीलाई ल्याएर कम्युनिस्टले सरकार बनाए’, उनले भने, ‘मुलुकमा भएका परिवर्तनको नेतृत्व सधैँ कांग्रेसले गरेको छ । संविधान कांग्रेसले बनाएको हो ।’

‘सरकारमा बसेकाहरूलाई कांग्रेस भनेपछि कसरी फसाउने भन्ने ध्यान छ’, उनले भनेका छन्, ‘कानून पनि त्यस्तै बनेको छ । ‘आशय’को नाममा जसलाई जे आरोप लगाइदिए पनि भएको छ । अहिले त्यही तथ्य देखियो । तनहुँको घटना देख्नुभयो ।’

‘हाम्रै पार्टीको गृहमन्त्रीलाई चलाउने हामी भइहाल्छौँ । कहाँ जान्छन् यिनीहरू ? आज पनि भन्छु म’, कांग्रेस नेता भण्डारीले भने, ‘सत्ताको ताबेदारी गरेर कुनै पनि प्रशासक । चाहे सीडीओ, पुलिस, चाहे अरु जनसरोकारवाला कार्यालयका मान्छेले कांग्रेसका कुरा नसुनेर हेपेर दुर्व्यवहार गर्‍यो भने तिनीहरूको तीन पुस्ता हामी राख्छौँ । अरुले राखेनन् भने पनि म राख्छु । मैले छाड्नेवाला छैन । यो भन्ने बाध्यता बनायो । हाम्रो चरित्र होइन यस्तो भन्ने । हामी सम्मान गर्छौं । बाध्य बनाएपछि यो कुरा गर्छौं ।’

कांग्रेसले सामाजिक सुरक्षा भत्ताका नाममा वृद्धवृद्धालाई सबैभन्दा पहिला भत्ता दिन थालेको उनले बताएका छन् । तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा कांग्रेसले रु. ५० दिन शुरु गरेको उनले बताए ।

‘कांग्रेसले वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ताको नाममा रु. ५० रुपियाँ दिन शुरु गरेको थियो’, उनले भने, ‘एमालेले नाम फेरेर वृद्ध भत्ता राखेर जस लियो । स्वरोजगार र प्रधानमन्त्री कार्यक्रम पनि कम्युनिस्टले कांग्रेसको ग्रामीण स्वावलम्बन कार्यक्रम चोरी गरेको छ । कांग्रेसले त्यस बेला नै ५० हजार दिएको थियो ।’

 


क्याटेगोरी : राजनीति
ट्याग : #शंकर भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545