उद्योग वाणिज्य महासङ्घका नयाँ नेतृत्वले थाल्यो काम, जनाए कडा प्रतिवद्धता
नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुभएको छ । वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यकारी सदस्यहरूले पद तथा गोपनीयताको शपथमै गुट उपगुटबाट मुक्त हुने अठोट गर्नुभएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छाले महासङ्घको १९औँ अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप उहाँले अध्यक्षता ग्रहण गर्नुभएको हो ।आइतबार बिहान सार्वजनिक भएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले करिब ५५ प्रतिशत र प्रतिद्वन्द्वी किशोर प्रधानले करिब ४५ प्रतिशत मत पाउनुभएको थियो ।
निर्वाचनका क्रममा समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका भए पनि परिणाम भने मिश्रित आएको छ । वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी हुँदा उहाँको प्यानलबाट एसोसिएट उपाध्यक्ष सङ्घई मात्र विजयी हुनुभयो भने वस्तुगत र उद्योग वाणिज्य समूहबाट प्रधान विजयी हुनुभयो । कार्यकारी सदस्यमा पनि दुवै प्यानलबाट मिश्रित रूपमा विजयी हुनुभएको छ । जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाउनुभयो । दुवै किशोरकुमार प्रधान समूहबाट चुनावीमा उत्रनुभएको थियो । दिनेश श्रेष्ठ महासङ्घमा वस्तुगतबाट उपाध्यक्ष भइसक्नुभएको छ ।
वस्तुगत समूह उपाध्यक्ष अञ्जन श्रेष्ठ ६१ मत र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाउनुभयो । उमेशलाल वर्तमान कार्यसमितिमा वस्तुगततर्फ उपाध्यक्ष नै हुनुहुन्थ्यो भने अञ्जन वस्तुगत समूह सदस्य हुनुहुन्थ्यो । एसोसिएट उपाध्यक्ष बन्नुभएका सङ्घईले ४५५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत ल्याउनुभएको थियो । उहाँहरूले महासङ्घको निर्वाचनका क्रममा समूह बनाएर गएको भए पनि अबका दिनमा त्यसको कुनै प्रभाव नदेखिने गरी एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
अध्यक्ष बन्नुभएका गोल्छाले प्रधान समूहलाई खुलेर समर्थन गर्दै आउनुभएको थियो तर वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभयो । ढकालले समूहका कुरा निर्वाचनकै दिनबाट अन्त्य भएको र त्यसको कुनै असर नरहने बताउनु भयो । ‘गोल्छा हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो, “अब प्यानलको कुनै पनि प्रभाव भोलिका दिनमा रहँदैन ।’ शपथ समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको श्रेय सामूहिक भाव र सबै पदाधिकारीको सहयोग रहेको बताउनुभयो ।
क्याटेगोरी : अर्थ
ट्याग : #उद्योग वाणिज्य महासङ्घका नयाँ नेतृत्व
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्