नवलपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती स्थित नमुना सदरमुकामको अवलोकन गर्नुभएको छ ।
अवलोकनपछि आफ्ना कुरा राख्दै उहाँले रकम अभावले नमुना सदरमुकामको काम नरोकिने बताउनुभएको छ । जिल्लामा हुने सबै सरकारी कार्यालय एकै स्थानमा निर्माण गर्ने योजनाका साथ निर्माण सुरु गरिएको नमुना सदरमुकामको काम बजेट अभावमा अलपत्र परेको अवस्थामा उहाँले उक्त कुरा बताउनुभएको हो ।
जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको नमुना सदरमुकामको काम अलपत्र परेपछि जिल्लावासीमा निराशा छाएको अवस्थामा अर्थमन्त्री महतले नमुना सदरमुकामको काम अब रकम अभावले नरोकिने , मन्त्रालय मार्फत सम्बन्धित कार्यालयलाई रकम विनियोजन भएको समेत जिकिर गर्नुभयो ।
अवलोकनका क्रममा विभिन्न सरोकारवाला पक्षले नमुना सदरमुकामको कामका लागि पर्याप्त बजेट विनियोजन गर्न माग राख्नुभयो ।
प्रदेशसभा सदस्य रोशन बहादुर गाहा , जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा , प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ ,कावासोती नगरपालिका नगरप्रमुख विष्णु प्रसाद भुसाल लगायतको सहभागिता रहेको थियो ।
यसैबीच नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणका विषयमा जानकारी लिने काम भइरहेको र यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताउनु भयो ।
नियमनकारी निकाय मार्फत नियमन गर्ने विषयमा पुरा गर्नुपर्ने कुराहरू के कति भएको छ बुझेर निष्कर्ष निकालेर त्यसको आधारमा सरकार अघि बढ्ने अर्थमन्त्री डा. महतले बताउनुभयो ।
दूरसञ्चार प्राधिकरण र राजश्वका सम्बन्धमा राजश्वका पदाधिकारीसँग जानकारी लिने र छलफल गर्ने काम जारी रहेको भन्दै उहाँले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताउनुभयो ।