बर्दिवास नगरको सम्पूर्ण गतिविधि सम्बन्धी अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्दै आएका जीवनराज दाहालले कार्यक्रम ‘पञ्चामृत’को आउँदा केही अङ्कमा बर्दिवासमा निजी विद्यालय सञ्चालन गर्दै आएका विभिन्न विद्यालयहरूका प्रधानाध्यापकसँग विद्यालयको समग्र विषयको छोटो अन्तर्वार्ता तयार पारिरहेका छन् । उक्त अन्तर्वार्तामा हजारौं विद्यार्थीको भविष्य बनाउने उदेश्य लिएर अघि बढेका निजी विद्यालयहरूको विशेषता, विद्यालयमा भएको शैक्षिक सामाग्री, शिक्षकका योग्यता तथा विशेषता, विद्यालयको शुल्क, देशको शैक्षिक अवस्था लगाएतका विषयमा कुराकानी गरिएको छ ।
“नयाँ शैक्षिक सत्रको सुरुवात भएकोले पनि विभिन्न गाउँ, ठाउँ, कुना, कन्दरामा बस्ने नगरबासीहरूले अन्तर्वार्ता हेरेर विद्यालको समग्र गतिविधि बुझी आफ्नो नानी बाबुलाई कुन विद्यालयमा पढाउँदा राम्रो हुन्छ भन्ने कुरा प्रष्ट हुनुहुनेछ” साझापानासँगको एक कुराकानीमा कार्यक्रम प्रस्तोता दाहालले भने ।
“विभिन्न जातजाती, भाषा, धर्म साथै कुनैपनि राजनीतिक दल नछुट्याई सबैलाई समानरुपले हेर्दै अघि बढेको कार्यक्रम भएर पनि होला ‘पञ्चामृत’ छोटो समय मै सम्पूर्ण नगरवासीको मन मुटुमा बस्न सफल भएको हो” भन्ने कुरापनि यसै कार्यक्रमका व्यवस्थापन सम्हाल्दै आएका अनिल दाहालले जानकारी गराए ।
हरेक शुक्रबार साँझ ६:३० बजे ओमकार टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘पञ्चामृत’ कार्यक्रम सुरुभएको पनि यही बैशाखमा एक वर्ष पूरा भएको छ ।