Techie IT
बिहीबार, चैत्र २०,२०८१

पत्रकारिता क्षेत्रको यथार्थ : सच्चिने कि सक्किने ?


गणेश बस्नेत

नेपालमा पछिल्लो समय सवैभन्दा बदनाम र बिवादित पेशा बन्न थालेको छ पत्रकारिता । आधुनिकीकरण र डिजिटल युगको सुरुवातसँगै बिस्तार भएका अनलाइन सञ्चार माध्यम र युटुव च्यानलसँगै पेशागत इमान्दारिता देखाउन नसक्दा पत्रकारिता क्षेत्र आम नागरिकको आक्रोशको केन्द्र बन्ने गरेको कतिपय घटनाहरु सार्वजनिक भइसकेका छन । त्यसमाथि पनि पत्रकारिता, सामाजिक सञ्जाल र युटुवबीचको भिन्नताबारे आम नागरिकलाई बुझाउन नसक्दा नेपाली प्रेस नखाएको बिष लागेर बेहोस हुनुपर्ने अवस्थामा पुग्नु परेको छ । हामी स्वयंले निर्मम आत्मसमिक्षासहित सच्चिने पहलकदमी नलिँदासम्म यो दुःखद अवस्था रहिरहने निश्चित छ ।

ब्यावसायिक पत्रकारिताको नाममा भित्रिएको बार्गेनिङको बिकृती र अमुक दल वा शक्तिलाई सिध्याउने मिसन पत्रकारिताले चुनौती थपेको थप्यै छ । यस्को कलंक मेटाउन त्यत्ति सहज छैन । हामीले धेरै मेहनत गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको भूमिका निर्णायक र नेतृत्वदायी हुनुपर्छ । तर महासंघ आफै कता कता बिचलित भएको अनि बाटो बिराएको अवस्थामा छ । मिसन, भिजन, टार्गेट र गोल के हो ? स्पष्ट गर्न सकिरहेको छैन ब्यवहार । बाटो बिराएको छ, लक्ष्यमा चुकेको छ पत्रकार महासंघ ।

जानेर होस वा नजानेर, अमुक–अमुक राजनीतिक दलसँगको सामिप्यता देखाउनेसम्मको परिदृष्यहरु यसबीचमा भएका छन । कतिपय घटनाहरु महासंघको लेटरप्याड प्रयोग हुनै नसक्ने खालका पनि छन । जस्ले महासंघको गौरवशाली इतिहासमाथि कालो दाग लागेको छ । किन यस्तो भइरहेको छ ? किन हामी चुकिरहेका छौं ? हाम्रो साझा लक्ष्य के हो ? कस्का लागि हामी प्रयोग भइरहेका छौं ? केका लागि प्रयोग भइरहेका छौं ? मुलधारका भनिएका मिडिया मालिकका मुन्सी त बनिरहेका छेनौं हामी ? भन्ने जस्ता प्रश्नमा अव ढिला नगरी आत्मसमिक्षा गर्न जरुरी छ । यी तमाम प्रश्नमा पत्रकार महासंघका पदाधिकारीदेखि सवै सदस्यहरु, सम्पादन कक्षको नेतृत्व लिएका सम्पादकहहरु र पत्रकारिता क्षेत्रका बिज्ञहरुले गम्भीर भएर सोच्न जरुरी छ ।

कुनै बिवाद छैन, नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो । यो संस्थामा सवै बिचार, सवै जातजाती, सवै धर्म, लिंग, क्षेत्र अटाउने नेपालको चित्र हुनुपर्छ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतासँगै नागरिकको आवाज बुलन्द गर्ने र सरकार तथा राजनीतिक दलहरुलाई खवरदारी गर्ने अगुवा संस्थाको रुपमा पत्रकार महासंघले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने मुल दायित्व काँधमा छ ।

आम नागरिकको आवज मुखरित गर्दै लोकतन्त्रको सुदृढीकरण र समृद्धिको यात्रातर्फ मुलुकलाई अघि बढाउने दायित्व पनि हाम्रो काँधमा छ । तर पत्रकार महासंघ यस दिशातर्फ अग्रसर हुन सकेको आभास पाइएको छैन भन्दा महासंघको नेतृत्वले आलोचना वा बिरोध ठान्नु हुन्न । कतिपय अवस्थामा पत्रकार महासंघ कुनै एउटा राजनीतिक दलको भातृ संस्थाको रुपमा प्रयोग भएको तथ्यहरुलाई आगामी दिनको कामबाटै चिर्न जरुरी छ ।

नेपाली पत्रकारिता क्षेत्रमाथि लागेका आक्षेप र यो पेशा कलंकित छ भन्ने उग्रवादी कुरालाई स्वीकार गर्न सकिन्न । यो क्षेत्र कमीजोरीरहित पनि छैन । तर आज जसरी प्रेसमाथि लाञ्छना लगाउने काम भइरहेको छ, यसप्रति पत्रकार महासंघकै अगुवाईमा एकमुष्ट जवाफ दिनुपर्ने बेला भएको छ । मुलुक अहिले पनि राजनीतिक स्थिरताको दिशातर्फ उन्मुख भइरहेको छैन । राजनीतिक दलहरु स्थिरता बिकाश र समृद्धिको मुल मुद्धा छाडेर सरकार बनाउनेदेखि सरकार बनाउनेसम्म, नेताहरु प्रधानमन्त्री बन्नेदेखि प्रधानमन्त्री बनाउनेसम्मको गोलचक्करमै फसिरहेको अवस्था छ ।

भर्खरै सम्पन्न निर्वाचनबाट पनि मुलुकले स्थिर सरकार पाउने आशा मरेको छ । अव फेरि २०५१ सालको एमालेको ९ महिने सरकारपछि देखिएका संसदीय क्षेत्रको बिकृत परिदृष्यहरु दोहोरिने हुन कि भन्ने चिन्ता छ । राजनीतिक दलहरु र ब्यवस्थालाई नै बदनाम बनाउने त्यो कालो दिन दोहोरिने अवस्थाबाट रोक्न नेपाली प्रेसले नै मेहनत गर्नुपर्ने देखिन्छ । यी सवै बिषयमा नेपाली प्रेस गम्भीर बन्न जरुरी छ भने पत्रकार महासंघले स्थिरता, बिकाश र समृद्ध नेपाल निर्माणका लागि स्पष्ट खाकासहितको मार्गचित्र सार्न जरुरी छ ।

नेपाली प्रेसमाथि अस्थिरतामा रमाउने र अराजकतालाई प्रोत्साहित गर्ने गरेको आरोप छ । यो आरोपलाई आगामी दिनमा हामीले गर्ने कामले नै खण्डित गर्नुपर्छ । कुनै दलप्रति वा कुनै गठबन्धनप्रति आशक्त भएर होइन, पत्रकार महासंघको सवै सदस्यहरुको पीडा र हामीले भोगिरहेको समस्या समाधानतर्फ केन्द्रित भई तथ्यको आधारमा सत्य स्थापित गर्ने काममा लाग्दा यो आरोप आफै खण्डित हुनेछ । त्यसैले पत्रकार महासंघले अव हिजोको जस्तो अमुक–अमुक दलको योजना कार्यान्वयनको ट्रयाक छाडेर समृद्धि नेपाल निर्माण, स्थिर सरकार, सुशासन कायम अनि संगीय लोकतान्त्रिक गणतन्त्रको फल आम जनताको झुपडिमा पुर्याउनेतर्फ ठोश योजनासहित अघि बढन जरुरी छ ।

दलसँग आवद्धता वा सामिप्यता राख्ने संगठनहरु छन, राजनीति तिनीहरुले गर्छन । पत्रकार महासंघ त्यो भन्दा टाढा बसेर देशभरका सवै सदस्यहरुको अनुहार र नेपालको भूगोल झल्कने गरी अघि बढनु पर्छ । चुनाव जित्नकै लागि पत्रकारिताबाहेक सवै पेशा ब्यवसाय गर्नेहरुलाई सदस्य बनाउने बिगतको कुरुप पाटोलाई त्यागेर आफ्ना कमी कमजोरीलाई आत्मसमिक्षा गर्दै अवको यात्रा तय गरियो भने पत्रकार महासंघ साँच्चीकै अब्बल बन्ने छ । यसतर्फ महासंघका नेतृत्वमा रहेका साथीहरुले बिशेष पहल कमदी लिन जरुरी छ ।

सिंगो पत्रकारिता क्षेत्रमाथि नै गम्भीर प्रश्न उठेपछि हामी आफ्ना कमजोरी केलाउनेतर्फ पनि लाग्नु पर्छ । हामीमाथि उठेका प्रश्नको जवाफ ब्यवहारबाट दिन सवैले साझा अठोट गरौं, ‘राजनीतिक दलको आवद्धताको शिकार बनिन्न, गैरपत्रकारलाई सदस्यता दिइन्न । पत्रकारितामा नरहेकालाई सदस्यता नविकरण गरिन्न । सुद्धिकरण भाषणमा होइन, ब्यवहारमा देखाइन्छ भनेर ।’ एजेण्डा सेटिङलाई छाडेर तथ्यको आधारमा सत्य स्थापित गर्ने अभियानको नेतृत्व पनि पत्रकार महासंघले नै गर्नुपर्छ । यत्ति काम गरियो भने नेपाली प्रेसमाथि लागेका सवै दागहरु मेटिनेछन । हामी फेरि गर्विलो इतिहासको आलोकमा सुन्दर भविश्यतर्फको यात्रामा सफल हुनेछौं ।

(पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न नेपाल पत्रकार महासंघको साधरण सभामा बिमोचित स्मारिकाबाट साभार)


क्याटेगोरी : दृष्टिकोण
ट्याग : #गणेश बस्नेत, #पत्रकारिता क्षेत्रको यथार्थ : सच्चिने कि सक्किने ?


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
15°
Partly Cloudy
5:49 am6:23 pm +0545